बारामा होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

बारामा होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनासहित ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजे जितपुर सिमरा–२ बस्ने अन्दाजी ३५ वर्षीय शेरबहादुर खड्कालाई सोही उपमहानगरपालिका–१६ बस्ने अन्दाजी २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो।

घाइते खड्कालाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारकै क्रममा साँझ करिब ६ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका आयुष राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले राति करिब १० बजे जितपुर सिमरा–१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको थियो।

घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले अन्य पाँच जनालाई समेत पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–१ घर भई जितपुर सिमरा–२ बस्ने अन्दाजी ३४ वर्षीया बिन्दु तामाङ, जितपुर सिमरा–२ बस्ने अन्दाजी ३० वर्षीय रामबहादुर तिमिल्सिना, सोही स्थानका अन्दाजी २३ वर्षीय रत्न पाख्रिन तामाङ, जितपुर सिमरा–१६ बस्ने अन्दाजी ४३ वर्षीया शान्ति राई र सोही स्थानकी अन्दाजी ४० वर्षीया सिता थापा मगर रहेका छन्।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप गरेको जनाएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय सिमरा, बाराले थप अनुसन्धान गरिरहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply