काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धार अभियानका क्रममा अहिलेसम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रसुवासहित विभिन्न जिल्लामा भेटिएका शवमध्ये सबैभन्दा धेरै चितवनमा फेला परेका छन्। जिल्लागत विवरणअनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ३, धादिङमा ७२, चितवनमा ३ सय ६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव भेटिएको छ।
यसैगरी बाढीमा परी घाइते भएका दुई जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचान र व्यवस्थापनको काम पनि सँगसँगै भइरहेको छ। डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरेर हालसम्म १ हजार २ सय ९२ शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
शव पहिचानका लागि मृतक र उनीहरूका आफन्तबाट गरी कुल ३ हजार २ सय ८३ डीएनए नमुना संकलन गरिएको छ। यसमध्ये मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ नमुना रहेका छन्।
पहिचान हुन नसकेका १ हजार ३ सय ६२ शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढीपछि अझै ४ हजार ६ सय ५५ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी रहेको छ।
यस्तै, विभिन्न जिल्लामा सञ्चालनमा रहेका होल्डिङ सेन्टरमा हाल १ हजार ३ सय ४२ जनालाई राखिएको प्रहरीले जनाएको छ।
खोजी तथा उद्धार अभियान जारी रहेकाले बेपत्ता व्यक्तिको अवस्था र थप शव फेला पर्ने क्रमसँगै विवरणमा परिवर्तन आउन सक्ने प्रहरीले जनाएको छ।