काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि भइरहेको वडा तहको निर्वाचन प्रक्रिया अधिकांश स्थानमा सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ र ४ गते गरी ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको हो।
वडा अधिवेशनबाट स्थानीय तहका कार्यसमिति तथा महाधिवेशनको माथिल्लो तहमा प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधि चयन भइरहेका छन्। यसअघि असोज ३ गते मात्रै ४३ जिल्लाका ३ हजार ३९६ वडामा निर्वाचन प्रक्रिया पूरा भएको निर्वाचन समितिले जनाएको थियो।
बाढी तथा अन्य स्थानीय परिस्थितिका कारण केही जिल्लामा भने निर्धारित समयमा अधिवेशन गर्न नसकिएको छ। रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशनको प्रक्रिया अन्य जिल्लाभन्दा फरक समयमा सञ्चालन गर्ने तयारी गरिएको छ। धादिङमा असोज ५ गते वडा अधिवेशन गर्ने जिल्ला कार्यसमितिले निर्णय गरेको छ।
यसैगरी, केही निर्वाचन क्षेत्र तथा वडामा पनि अधिवेशन बाँकी रहेको कांग्रेसको निर्वाचन प्रक्रियासँग सम्बन्धित विवरणमा उल्लेख छ। बाँकी रहेका स्थानमा स्थानीय अवस्था र निर्वाचन प्रतिनिधिसँगको समन्वयका आधारमा प्रक्रिया अघि बढाइने बताइएको छ।
कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। त्यसअघि वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्र हुँदै महाधिवेशनका लागि आवश्यक प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढ्नेछ। कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा तहको निर्वाचनपछि क्रमशः माथिल्ला तहका अधिवेशन सञ्चालन हुनेछन्।