काठमाडौं । लोककल्याणकारी विज्ञापनबापत छापा सञ्चारमाध्यमले प्राप्त गर्दै आएको रकम घटाइएको विषयमा नेपाल पत्रकार महासंघले नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले प्रचण्डलाई भेटेर कार्यविधि संशोधनमार्फत विज्ञापन रकम कटौती गरिएको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो।
छापा माध्यमको संरक्षणसँग जोडिएको विषय भएकाले रकम कटौती गर्ने निर्णय सच्याउन पहल गर्न टोलीले आग्रह गरेको छ। ध्यानाकर्षण पत्रमा सञ्चारमाध्यमलाई निरन्तरता दिन तथा छापा पत्रकारिताको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरिएको छ।
प्रतिनिधिमण्डलमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याल, उपाध्यक्ष हेमबहादुर राना, सचिव रमेशकुमार बोहोरा तथा शाखाका सल्लाहकार एवं केन्द्रीय सदस्य सूर्य सुवेदी सहभागी थिए।
त्यसैगरी, काठमाडौं शाखाले गठन गरेको ‘छापा माध्यम बचाउ सुझाव कार्यदल’का सदस्य टंक कार्की, विश्वराज किराँत, सीता पोखरेल र कल्पना खड्कासहित वरिष्ठ पत्रकारहरू पनि टोलीमा सहभागी थिए।
कार्यदलका संयोजक दामोदरप्रसाद दवाडीले हस्ताक्षर गरेको पत्रमा लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय फिर्ता लिन माग गरिएको छ। साथै, छापा सञ्चारमाध्यमलाई संरक्षण र प्रवर्द्धन गर्ने दिशामा आवश्यक पहलका लागि आग्रह गरिएको छ।