बाढी–पहिरोका कारण यी राजमार्गमा अझै अवरोध, कहाँ कस्तो छ सडकको अवस्था ?

बाढी–पहिरोका कारण यी राजमार्गमा अझै अवरोध, कहाँ कस्तो छ सडकको अवस्था ?

काठमाडौं । बाढी, पहिरो तथा सडक कटानका कारण देशका विभिन्न स्थानमा राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। केही सडकखण्ड पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा एकतर्फी तथा समय तोकेर सवारी सञ्चालन भइरहेको छ।

प्रहरी तथा सडकसम्बन्धी पछिल्लो विवरणअनुसार कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। मकालु गाउँपालिका–४ स्थित नेता भीरमा असोज २ गते बिहान पहिरो खसेपछि खाँदबारी–किमाथांका सडकखण्डमा यातायात रोकिएको हो।

बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सवारी सञ्चालनका लागि समय तोकिएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइने व्यवस्था छ। यात्रुवाहक तथा निजी सवारी भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिअनुसार सञ्चालन हुने व्यवस्था रहेको छ।

रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध छन्। पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारका विभिन्न भाग बाढीले कटान गरेपछि यातायात सेवा प्रभावित भएको हो। रसुवा पुग्न केही वैकल्पिक सडकसमेत प्रयोगमा ल्याइएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सेवाबाहेकका सवारी साधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवतजावत गर्न रोक लगाइएको विवरणमा उल्लेख छ। त्यस्तै, विदुर नगरपालिका–१० सिमटारस्थित पासाङल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

धादिङको पृथ्वी राजमार्गमा भने केही खण्डमा यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला तथा शीतलबजार क्षेत्रमा पहिरो तथा सडक क्षतिपछि मर्मत गरी एकतर्फी यातायात सञ्चालन गरिएको छ।

सडक विभागले पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा असोज १ गते बिहान ६ बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने सूचना सार्वजनिक गरेको छ।

बाढी तथा पहिरोका कारण सडकको अवस्था ठाउँअनुसार फरक रहेकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न उपयुक्त हुन्छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply