नवलपरासी पश्चिममा कुटपिटबाट घाइते युवकको उपचारका क्रममा मृत्यु

नवलपरासी पश्चिममा कुटपिटबाट घाइते युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । नवलपरासी पश्चिममा कुटपिटबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीका ३० वर्षीय संजय गुप्ताको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत भदौ २९ गते साँझ करिब ६ः४० बजे संजय मदिरा सेवन गरेको अवस्थामा सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका थिए। त्यहाँ उनीहरूबीच सामान्य विवाद भएपछि कुटपिट भएको थियो।

कुटपिटका क्रममा संजयको दाहिने कानमा भित्री चोट लागेको थियो। कानबाट रगतसमेत बगेपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो।

जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि उनलाई भैरहवा, रुपन्देहीस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो। त्यहाँ उपचाररत संजयको आज बिहान करिब ५ः३० बजे मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा सुनिल प्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply