मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल हेर्न डिबाला र मोलिनालाई रोमाको स्वीकृति आवश्यक

मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल हेर्न डिबाला र मोलिनालाई रोमाको स्वीकृति आवश्यक

एजेन्सी । इटालियन क्लब एएस रोमाका पाउलो डिबाला र नाहुएल मोलिना अर्जेन्टिनाका कप्तान लियोनल मेसीको राष्ट्रिय टोलीबाट अन्तिम खेल हेर्न स्वदेश फर्किन सक्ने सम्भावना देखिएको छ। तर, उनीहरूलाई अर्जेन्टिना जान रोमाले अझै अनुमति दिएको छैन।

अक्टोबर ६ मा अर्जेन्टिनाले ब्युनस आयर्समा बेनिनसँग मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेललाई मेसीको राष्ट्रिय टोलीबाट बिदाइका रूपमा हेरिएको छ। अर्जेन्टिना फुटबल संघले मेसीलाई उक्त खेलका लागि बोलाइसकेको छ।

रोमा अहिले अन्तर्राष्ट्रिय विश्राममा प्रवेश गरेको छ। इन्टर मिलानसँग २–२ को बराबरी खेलेपछि रोमा, इन्टर र लाजियो समान १३ अंकसहित लिगको शीर्ष स्थानमा छन्।

रोमाका अधिकांश खेलाडी राष्ट्रिय टोलीको जिम्मेवारीका कारण क्लबबाट बाहिर रहनेछन्। लियोनार्डो बालेरडी, माटियास सोल तथा सान्टियागो क्यास्ट्रो अर्जेन्टिनाको टोलीसँग रहनेछन्।

तर डिबाला र मोलिना भने राष्ट्रिय टोलीमा समावेश नभएकाले रोमामै बसेर आगामी खेलको तयारी गर्ने अपेक्षा गरिएको थियो। उनीहरूको अर्को खेल अक्टोबर ११ मा कोमोविरुद्ध हुनेछ।

मेसीको अन्तिम अन्तर्राष्ट्रिय उपस्थितिका कारण भने डिबाला र मोलिनालाई पनि अर्जेन्टिना जाने अवसर मिल्न सक्छ। रोमाको मुख्य चिन्ता भनेको कोमोविरुद्धको खेलभन्दा पाँच दिनअघि हुने अर्जेन्टिनाको खेलका कारण आफ्ना दुई महत्त्वपूर्ण खेलाडीको फिटनेस र तयारीमा असर नपरोस् भन्ने हो।

रोमाले स्वीकृति दिएमा डिबाला र मोलिना मेसीको बिदाइ खेलमा सहभागी हुन अर्जेन्टिना जानेछन्। यसबारे अन्तिम निर्णय आगामी दिनमा हुने अपेक्षा गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply