प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै, राष्ट्रसंघमा भोटेकोशी बाढीको विषय उठाउने

प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै, राष्ट्रसंघमा भोटेकोशी बाढीको विषय उठाउने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आगामी असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन्। नेपालको पछिल्लो बाढी तथा प्राकृतिक विपद्का कारण भएको क्षति र जलवायु परिवर्तनसँग जोडिएका जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी रहेको छ।

विशेषगरी भोटेकोशी बाढीबाट नेपालमा परेको ठूलो मानवीय तथा भौतिक क्षतिको विषयलाई प्रधानमन्त्रीको सम्बोधनमा प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। नेपालले जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे विश्व समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू प्रतिनिधिमण्डलमा सहभागी हुनेछन्।

यसअघि नै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली न्यूयोर्क पुगिसकेको छ। खनालले महासभाको उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने र विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको न्यूयोर्क भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। प्रधानमन्त्री असोज १० गते अर्थात् सेप्टेम्बर २६ मा नेपाल फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply