काठमाडौं | काठमाडौंको त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका थिए। उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको अस्पतालले जनाएको थियो।
गम्भीर अवस्थामा उद्धार गरिएका चालकको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
आगलागी हुनुअघि हर्न बजाएको विषयलाई लिएर चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। घटनासँग सम्बन्धित भिडियोसमेत सार्वजनिक भएको छ, जसमा चालक र सुरक्षाकर्मीबीच तनावपूर्ण संवाद भएको देखिन्छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले बसभित्र आफैं प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको देखिएको छ। यद्यपि घटनाको वास्तविक कारण र त्यसअघिको परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि बस पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको थियो। चालकको मृत्यु भएपछि घटनाको अनुसन्धान थप गहिरो बनाइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालय र प्रहरीले घटनाबारे छुट्टाछुट्टै छानबिन अघि बढाइरहेका छन्।
चालकको पहिचानका विषयमा समेत प्रहरीले थप विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।