काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिने निर्णय भएको जनाइएको छ। त्यसका लागि प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको र राष्ट्रपतिले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेको विवरण सार्वजनिक भएको छ।
प्रधानमन्त्री शाह आज साँझ न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी संयुक्त राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन्।
महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाहको भ्रमण असोज १० गतेसम्म रहने विवरण सार्वजनिक भए पनि परराष्ट्र मन्त्रालयको पछिल्लो प्रेस विज्ञप्तिमा भने उनी सेप्टेम्बर २६ अर्थात् असोज १० गते स्वदेश फर्कने उल्लेख छ।