भोटेकोशी बाढीपछि रोकिएको आवतजावत फेरि सुरु, अरू १२ पुलको काम कहाँ पुग्यो ?

भोटेकोशी बाढीपछि रोकिएको आवतजावत फेरि सुरु, अरू १२ पुलको काम कहाँ पुग्यो ?

काठमाडौं । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावत प्रभावित बनेको थियो। सरकारले क्षतिग्रस्त पुलको मर्मत तथा पुनर्निर्माण पूरा गरेसँगै अब उक्त पुलबाट आवतजावत पूर्णरूपमा सुचारु भएको जनाएको छ।

पुल पुनर्निर्माणका क्रममा बाढीबाट बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्डरेल केबल फेर्ने तथा स्टिल डेक र बिम जडान गर्ने काम गरिएको थियो। आज जाली राख्ने कामसमेत सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइएको हो।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत तथा पुनर्निर्माणलाई तीव्रता दिएको जनाएको छ।

सरकारका अनुसार धादिङ, नुवाकोट र गोरखामा रहेका अन्य १२ वटा झोलुङ्गे पुलको मर्मत कार्य पनि अन्तिम चरणमा पुगेको छ।

पुलहरू पुनः सञ्चालनमा आउन थालेसँगै बाढी प्रभावित क्षेत्रका स्थानीयको आवतजावत तथा दैनिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply