काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ। सेनाका अनुसार हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार २४२ जनाको हवाई उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये ३ हजार ९५९ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।
रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा सेनाले विभिन्न स्थानमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोज तथा उद्धार गरिरहेको छ। त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत क्षेत्रमा टोली परिचालन गरिएको छ।
सडक सम्पर्कबाट विच्छेद भएका तथा दुर्गम क्षेत्रमा राहत पुर्याउन ड्रोनको समेत प्रयोग भइरहेको छ। हालसम्म नुवाकोट र रसुवाका विभिन्न स्थानमा ड्रोनमार्फत ३६ हजार ३१७ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।
यस्तै, टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासीका पूर्व र पश्चिमतर्फका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार २०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
सेनाले खोज तथा उद्धारसँगै शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा समेत काम गरिरहेको जनाएको छ।
यसैबीच, बेत्रावती नदीमा पुल जडानका लागि उत्तरगया स्कुलदेखि बेत्रावती पुल खण्डमा रक कटिङ तथा ब्लास्टिङ गरेर करिब २०० मिटर ट्र्याक खोलिएको छ।
प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज थप १० जनाले उपचार सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ४ हजार ४१ जना लाभान्वित भएको नेपाली सेनाले जनाएको छ।