काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा चालक गम्भीर घाइते भएको घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो। समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाएर सात दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
घटनामा रिद्धिसिद्धी यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। प्रारम्भिक विवरणअनुसार ट्राफिक नियम उल्लङ्घन गरेको विषयमा चालकलाई पुर्जी काट्ने क्रममा विवाद भएको र त्यसपछि बस पार्किङ बेमा रोकिएको अवस्थामा आगलागी भएको थियो। घटनाको वास्तविक कारण भने छानबिनपछि मात्रै स्पष्ट हुने प्रशासनले जनाएको छ।
छानबिन समितिले घटनासँग सम्बन्धित तथ्य, प्रमाण तथा सूचना संकलन गर्नेछ। घटनास्थल प्रत्यक्ष देखेका व्यक्तिसँग सोधपुछ गर्नुका साथै आसपासका सीसीटीभी फुटेज अध्ययन गर्ने र बस पार्किङमा रोकिएदेखि आगलागी हुँदासम्मको घटनाक्रमको टाइमलाइन तयार गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।
त्यस्तै, घटनामा गम्भीर घाइते भएका चालकको पृष्ठभूमि, मोबाइल, भिडियो, म्यासेज तथा घटनासँग सम्बन्धित व्यक्तिसँग भएको सम्पर्कलगायतका प्रमाणसमेत अध्ययन गरिनेछ।
यसअघि घटनाबारे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पनि एसएसपी रमेश बस्नेतको नेतृत्वमा छुट्टै छानबिन समिति गठन गरेको थियो। उक्त समितिलाई पाँच दिनभित्र छानबिन गरी दोषी भए कारबाहीको सिफारिस गर्न कार्यादेश दिइएको थियो।
घटनापछि ट्राफिक प्रहरीको सेवा प्रवाह, सडकमा खटिने प्रहरीको व्यवहार तथा ट्राफिक व्यवस्थापनका चुनौतीबारे पनि छलफल भइरहेको छ। उपत्यकामा दैनिक १५ लाखभन्दा बढी सवारीसाधन आवतजावत गर्ने र त्यसको व्यवस्थापनमा करिब १ हजार ३ सय ट्राफिक प्रहरी परिचालन रहेको विवरण छलफलमा प्रस्तुत गरिएको थियो।
सीमित जनशक्ति र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री तथा नागरिकमैत्री बनाउने विषयमा समेत जोड दिइएको छ।