रुसमा रहेका नेपालीको समस्याबारे संसद्मा गम्भीर कुरा उठ्यो, खुश्बु ओलीको यस्तो माग

रुसमा रहेका नेपालीको समस्याबारे संसद्मा गम्भीर कुरा उठ्यो, खुश्बु ओलीको यस्तो माग

काठमाडौं । राप्रपाकी सांसद खुश्बु ओलीले रुसमा रहेका नेपाली विद्यार्थी, श्रमिक तथा व्यवसायीले भोगिरहेका समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेकी छन्।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै ओलीले केही दिनअघि रुस भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीसँग प्रत्यक्ष संवाद गरेको र त्यस क्रममा विभिन्न समस्या देखिएको बताइन्।

उनका अनुसार रुसबाट नेपालमा वैधानिक रूपमा रकम पठाउने सहज माध्यम नहुँदा नेपाली श्रमिक तथा व्यवसायी प्रभावित भएका छन्। रुस–युक्रेन युद्धपछि त्यहाँका केही प्रमुख बैंक अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग भएपछि नेपालमा पैसा पठाउन कठिनाइ भएको उनको भनाइ छ।

ओलीले केही समयअघि भोटेकोशी र त्रिशूली बाढीपीडितका लागि रुसमा रहेका नेपालीले संकलन गरेको २० लाख रुपैयाँसमेत वैधानिक बैंकिङ माध्यमबाट पठाउन नसकेपछि नगद बोकेर नेपाल ल्याउनुपरेको उदाहरण संसद्मा प्रस्तुत गरिन्।

उनले हुन्डीको विकल्पका रूपमा वैधानिक माध्यम खोल्न नेपाल राष्ट्र बैंकले सम्भावित वित्तीय संयन्त्रबारे अध्ययन गर्नुपर्ने सुझाव दिइन्। भारतीय संयन्त्र, एनपीआई–युपीआई वा प्रतिबन्धमा नरहेका तेस्रो मुलुकका विप्रेषण कम्पनीमार्फत रकम पठाउने व्यवस्था मिलाउन सकिने उनको प्रस्ताव थियो।

छात्रवृत्ति पाएका विद्यार्थीको एनओसीबारे प्रश्न

ओलीले रुस सरकारको पूर्ण छात्रवृत्तिमा छनोट भएका नेपाली विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) नपाउँदा छात्रवृत्ति गुम्ने जोखिम रहेको विषय पनि उठाइन्।

उनका अनुसार शैक्षिक सत्र २०२६/२७ का लागि रुसले ४० वटा छात्रवृत्ति कोटा उपलब्ध गराएको छ। छात्रवृत्तिमा छनोट भएका विद्यार्थीको अध्ययन प्रभावित नहुने गरी एनओसी दिने प्रक्रिया सहज बनाउन उनले सरकारसँग माग गरिन्।

रोजगारीका लागि रुस जाने श्रमिक र छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थीलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने भन्दै उनले छात्रवृत्ति पाएका विद्यार्थीलाई सहज प्रक्रियाबाट एनओसी उपलब्ध गराउनुपर्ने बताइन्।

मेडिकल अध्ययन सकेर फर्कने विद्यार्थीको समस्या

रुसमा चिकित्सा शिक्षा पूरा गरी नेपाल फर्किएका नेपाली चिकित्सकले इन्टर्नसिप तथा दर्ता प्रक्रियामा समस्या भोगिरहेको विषय पनि ओलीले संसद्मा उठाइन्।

उनले नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र सम्बन्धित रूसी निकायबीच समन्वय गरी अध्ययनको समकक्षता निर्धारणका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने बताइन्। आवश्यक अभ्यास नेपालमै पूरा गर्ने व्यवस्था मिलाउनुपर्ने उनको सुझाव थियो।

श्रम स्वीकृति खोल्नुपर्ने माग

सरकारले रुसका लागि श्रम स्वीकृति रोकेका कारण पहिले नै वैधानिक रूपमा काम गरिरहेका श्रमिकसमेत प्रभावित भएको र नयाँ श्रमिक अनौपचारिक बाटोबाट जान सक्ने जोखिम बढेको ओलीले बताइन्।

रुसी सेनामा भर्ती रोक्ने निर्णयलाई गैरसैन्य तथा सुरक्षित रोजगारीका क्षेत्रसँग समेत जोड्न नहुने भन्दै उनले नियमन गर्न सकिने क्षेत्रमा चरणबद्ध रूपमा श्रम स्वीकृति खुलाउने सम्भावनाबारे अध्ययन गर्न सरकारसँग आग्रह गरिन्।

रुसमा रहेका नेपालीका यी समस्या समाधानका लागि परराष्ट्र, श्रम तथा स्वास्थ्य मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय आवश्यक रहेको ओलीले बताइन्। उनले निश्चित समयसीमा तोकेर समस्या समाधान गर्न तथा संसदीय समितिमा समेत यस विषयमा छलफल गराउन माग गरेकी छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply