काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० घर जलेका छन्।
करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा लागेको आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट समेत सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्। सुरक्षाकर्मी तथा स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिने काम भइरहेको जनाइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
घटनाबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ भने आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सुरक्षाकर्मी परिचालन भइरहेका छन्।