काठमाडौं । कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढेर ड्यामको सुरक्षाका लागि स्पिलवे गेट खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना दिन साइरन प्रणाली सञ्चालनमा राखिएको छ।
जलाशयमा पानीको अवस्था अनुसार विभिन्न तहमा साइरन बजाइने भएकाले खोला तथा नदी किनार आसपासका बासिन्दाले साइरनको संकेतलाई गम्भीर रूपमा लिएर तोकिएको सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ।
पहिलो चेतावनी : एकपटक लामो साइरन
करिब एक मिनेट लगातार लामो साइरन बज्दा जलाशयमा पानी भरिँदै गएको संकेत मानिनेछ। यस्तो अवस्थामा खोला किनारमा कुनै पनि उद्देश्यले जान नहुने र विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवतीलाई सुरक्षित स्थानमा सार्नुपर्नेछ। पशुचौपायालाई समेत सुरक्षित ठाउँमा लैजान आग्रह गरिएको छ।
यस अवस्थामा देउराली–कुलेखानी–सिस्नेरी सडकखण्ड प्रयोग गर्दा पनि विशेष सावधानी अपनाउनुपर्नेछ।
दोस्रो चेतावनी : दुईपटक साइरन
करिब दुई मिनेट लगातार साइरन बज्दा जलाशयको पानीको सतह उच्चतम बिन्दुमा पुगेको अवस्थाको संकेत हुनेछ। यसलाई उच्च सतर्कताको अवस्था मानिने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दाले जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानतर्फ सर्न तयारी गर्नुपर्नेछ।
तेस्रो तथा अन्तिम चेतावनी : तीनपटक साइरन
लगातार छोटो–छोटो अन्तरालमा तीनपटक साइरन बज्नु आपतकालीन अवस्थाको संकेत हो। यस अवस्थामा ड्यामका मुख्य ढोका खोलिएको र नदी तथा खोलाको पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले तुरुन्त खोला किनार तथा गहिरो भाग छाडेर अग्लो र सुरक्षित स्थानमा जानुपर्नेछ।
आपतकालीन चेतावनी जारी भएको अवस्थामा देउराली–कुलेखानी–सिस्नेरी सडकखण्डमा आवतजावत नगर्न पनि आग्रह गरिएको छ।
जलाशय तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले साइरनको संकेतलाई बेवास्ता नगरी स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने थप सूचनासमेत ध्यानपूर्वक पालना गर्नुपर्नेछ।
