श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा, कबड्डीबाट पक्का भयो पदक

श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा, कबड्डीबाट पक्का भयो पदक

एजेन्सी । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला कबड्डी टोलीले श्रीलंकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ३४–२४ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। जितसँगै नेपाली महिला कबड्डी टोलीको कम्तीमा कांस्य पदक पक्का भएको छ।

नेपालले खेलको पहिलो हाफमा १९–१३ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि नेपाली टोलीले आफ्नो अग्रता कायम राख्दै खेल आफ्नो पक्षमा पार्‍यो। रक्षापंक्तिमा राम्रो प्रदर्शन गरेको नेपालले श्रीलंकालाई लगातार दबाबमा राखेको थियो।

समूह चरणमा नेपालले यसअघि थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो। श्रीलंकाविरुद्धको जितसँगै नेपाल समूहको शीर्ष दुईमा रहँदै सेमिफाइनल पुगेको हो।

कबड्डीमा सेमिफाइनलमा पुग्ने दुवै पराजित टोलीले कांस्य पदक प्राप्त गर्ने भएकाले नेपालले एसियाली खेलकुदबाट कम्तीमा एउटा पदक सुनिश्चित गरेको हो। यसअघि हाङ्जाउमा भएको १९औँ एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply