काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक महत्वपूर्ण निर्णय गर्दै बिहीबार सम्पन्न भएको छ। चार दिनसम्म चलेको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्नुका साथै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ।
असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको बैठकले भण्डारीलाई अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। बैठकअघि बसेको सचिवालय बैठकले गरेको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो।
बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।
त्यस्तै, ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनीत हुन बाँकी रहेका सदस्यहरूलाई पनि मनोनीत गरिएको छ। पार्टीमा समायोजन भएका विभिन्न नेताहरूलाई समेत केन्द्रीय कमिटीमा समेटिएको छ।
बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। विस्थापित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर पुनर्स्थापनाको काम अघि बढाउन पनि आग्रह गरिएको छ।
समसामयिक राजनीतिक विषयमा एमालेले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ। पार्टी अध्यक्ष ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै बैठकले सरकारको आलोचना गरेको छ।
यसैगरी, सुकुम्बासी विस्थापन, मानव अधिकार तथा सञ्चारमाध्यमको स्वतन्त्रताका विषयमा समेत बैठकले सरकारको ध्यानाकर्षण गराएको छ। महँगी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति तथा बढाइएको कर फिर्ता लिन पनि माग गरिएको छ।
बैठकले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षा तथा जनताका सवालमा विभिन्न राजनीतिक दल, नागरिक तथा बौद्धिक समुदायसँग संवाद र सहकार्यका लागि आह्वान गरेको छ।
बैठक समापन गर्दै अध्यक्ष ओलीले एमाले सुदृढ एकताका साथ अघि बढ्ने सन्देश दिएका छन्। स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्युरो गठन गर्ने तथा सल्लाहकार परिषद्, विभाग र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनसम्बन्धी बाँकी काम टुंग्याउने अधिकार बैठकले सचिवालयलाई दिएको छ।
बैठकले पार्टीको आन्तरिक एकता थप मजबुत बनाउँदै आगामी राजनीतिक गतिविधि र निर्वाचनको तयारीमा केन्द्रित हुन पार्टी पंक्तिलाई आह्वान गरेको छ।