काठमाडौं । सरकारले सातै प्रदेशमा खेलकुद पूर्वाधार विस्तार गर्ने योजनाअन्तर्गत २७ स्थानमा नयाँ संरचना निर्माण अघि बढाउने तयारी गरेको छ।
क्रिकेट रंगशाला, फुटबल रंगशाला तथा कभर्ड हललाई प्राथमिकतामा राख्दै राष्ट्रिय खेलकुद परिषद् र शहरी विकास तथा भवन निर्माण विभागबीच समझदारी भएपछि पूर्वाधार निर्माणको प्रक्रिया अघि बढ्ने भएको हो।
योजनाअनुसार आगामी तीन वर्षभित्र ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ। यस्तै, सात स्थानमा २ हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गर्ने योजना अघि सारिएको छ।
त्यसैगरी आगामी पाँच वर्षभित्र देशका प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने लक्ष्य राखिएको छ।
खेलकुद पूर्वाधारलाई स्थानीय तहसम्म विस्तार गर्दै ग्रासरुटबाटै खेलाडी उत्पादन गर्ने आधार बलियो बनाउने उद्देश्यले योजना अघि बढाइएको जनाइएको छ।
नयाँ पूर्वाधार निर्माणसँगै खेलाडी उत्पादन र खेल गतिविधि विस्तार हुनुका साथै स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधिसमेत बढाउने लक्ष्य राखिएको छ।