इलाम र काभ्रेमा नदीको सतह बढ्दो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

इलाम र काभ्रेमा नदीको सतह बढ्दो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण इलाम र काभ्रेपलाञ्चोकका केही नदी तथा खोलामा जलसतह बढेपछि तटीय र डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार इलामको कन्काई नदीअन्तर्गत मैनाचुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा नियमित रूपमा डुबान हुने होचा भूभागमा रहेका नागरिकलाई दिउँसोसम्म विशेष सावधानी अपनाउन भनिएको छ।

त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी खोला, पनौती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। त्यहाँ पनि पानीको सतह बढिरहेको भन्दै तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

महाशाखाले नदी तथा खोलाको बहाव थप बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान र स्थानीय रूपमा जारी हुने बाढीसम्बन्धी सूचनामा ध्यान दिन आग्रह गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply