पृथ्वी राजमार्गमा अर्को सूचना नभएसम्म सवारी बन्द,धादिङमा पहिरोको जोखिम

पृथ्वी राजमार्गमा अर्को सूचना नभएसम्म सवारी बन्द,धादिङमा पहिरोको जोखिम

धादिङ । लगातारको वर्षाका कारण पहिरो खस्ने क्रम बढेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन रोकिएको जनाएको छ।

प्रशासनका अनुसार धादिङ जिल्ला र आसपासका क्षेत्रमा विगत दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको तथा आगामी केही दिनमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान रहेकाले थप विपद्जन्य जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो।

यात्रु तथा चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गमा आवागमन रोकिएको प्रशासनले जनाएको छ। मौसम र सडकको अवस्था सुधारिएपछि अर्को सूचना जारी गरिनेछ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।

आवश्यक सहयोग तथा समन्वयका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ तथा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply