स्वयम्भूबाट चोरी भएका Power Tiller कहाँ पुग्थे ? १४ थानसहित ५ जना पक्राउ

स्वयम्भूबाट चोरी भएका Power Tiller कहाँ पुग्थे ? १४ थानसहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौंको स्वयम्भू क्षेत्रबाट चोरी भएका हाते ट्याक्टर (Power Tiller) विभिन्न स्थानमा बिक्री गर्ने गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार स्वयम्भू क्षेत्रमा विभिन्न समयमा हाते ट्याक्टर चोरी भएको सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट टोली परिचालन गरी खोजी तथा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा असोज ८ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बाट काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट चोरी भएका १४ थान Power Tiller फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले चोरी तथा चोरीका ट्याक्टर खरिद–बिक्रीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट बा ३१ प २१५९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–५ छालिङका ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी र १९ वर्षीय राजन मचामसी रहेका छन्।

त्यस्तै, रौतहट परोहा नगरपालिका–५ घर भई भक्तपुरको बोडेमा कवाड सञ्चालन गर्दै आएका ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रे पाँचखाल नगरपालिका–४ घर भई कवाड सञ्चालन गर्दै आएका ४८ वर्षीय बिपिन कुमार शाही पनि पक्राउ परेका छन्।

पक्राउ परेका पाँचै जनामाथि चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply