काठमाडौं । देशका विभिन्न क्षेत्रमा जारी वर्षाका कारण देखिएको जोखिमबारे मनसुन प्रतिकार्य कमाण्ड पोष्टमा समीक्षा गरिएको छ।
रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत समन्वयका लागि गठित परिचालन टोली र विषयगत मन्त्रालयका क्लस्टर प्रमुखहरूको संयुक्त बैठकले वर्षाका कारण विभिन्न क्षेत्रमा परेको प्रभावको समीक्षा गरेको हो।
बैठकमा आगामी दिनमा धेरै भारी वर्षा हुनसक्ने जिल्लाका जोखिमयुक्त सडक खण्डमा सवारी आवागमन रोक्ने विषयमा समेत छलफल भएको छ।
जोखिमको अवस्था हेरेर आवश्यक परे सम्बन्धित जिल्लामा सवारी आवागमन बन्द गर्ने निर्णय लिन जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टलाई बैठकले निर्देशन दिएको छ।
त्यस्तै, रसुवा बाढीका कारण घरबास गुमाएका परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको छ। बैठकमा अस्थायी आवासका लागि लाभग्राही परिवार पहिचान तथा उनीहरूको आवास व्यवस्थापनका विषयमा आवश्यक प्रक्रिया अघि बढाउनेबारे समीक्षा गरिएको छ।