काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
शुक्रबार निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। उसका लागि फैसल खान अहमदजाई र नजिबुल्लाह जद्रानले समान ३० रन बनाए भने नांगेलिया खान १७ रनमा अविजित रहे।
नेपालका लागि कुशल भुर्तेलले ४ विकेट तथा ललित नारायण राजवंशीले ३ विकेट लिए।
१०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले सुरुवातमै कुशल भुर्तेल र आसिफ शेखको विकेट गुमाए पनि सन्दीप जोराले ३४ रन बनाएर इनिङ्स सम्हाले। कप्तान रोहित पौडेलले ३३ रन तथा दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। जितका लागि एक रन आवश्यक हुँदा ऐरी आउट भए पनि गुल्सन झाले विजयी रन पूरा गरे।
यस जितसँगै नेपालले एसियाली खेलकुदको समूह चरणमा महत्वपूर्ण दुई अंक जोडेको छ। नेपालले अब शनिबार आयोजक जापानसँग खेल्नेछ।
यो जितसँगै नेपालले २०१४ को एसियाली खेलकुदमा अफगानिस्तानसँग बेहोरेको पराजयको १२ वर्षपछि पुनः सोही प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्न सफल भएको हो।