हेटौँडाबाट पथलैयातर्फ जाँदै थिए, ट्रकको ठक्करपछि स्कुटर चालकको मृत्यु

हेटौँडाबाट पथलैयातर्फ जाँदै थिए, ट्रकको ठक्करपछि स्कुटर चालकको मृत्यु

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

शुक्रबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटर चालक मोरङ, लाङटाङ नगरपालिका–१ का करिब ३५ वर्षीय योगेन्द्र मगर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो।

घाइते मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज लगिएकोमा उपचारकै क्रममा राति ११ः५० बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले ट्रक र चालक जितपुरसिमरा उपमहानगरपालिका–२१ का करिब ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply