काठमाडौं । काठमाडौंको चन्द्रागिरिबाट चोरी भएका दुई वटा मोटरसाइकलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–९, मच्छेगाउँस्थित एक घर अगाडि पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटबाट टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा प्रहरीले चन्द्रागिरी नगरपालिका–१, गोकुलपाटीबाट दुई वटा मोटरसाइकलसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्न प्रयोग हुने दुई थान औजार, दुई थान सिम, दुई थान मोबाइल तथा नगद ५५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर भई हाल चन्द्रागिरी नगरपालिका–१२ बस्ने २७ वर्षीय नारायण तामाङ, गजुरी गाउँपालिका–७ का २२ वर्षीय आकाश तामाङ र गजुरी गाउँपालिका–८ का २१ वर्षीय वेलबहादुर तामाङ रहेका छन्।
उनीहरूबाट बागमती प्रदेश ०२–०४१ प ३९३४ र बागमती प्रदेश ०२–०४५ प ६७०५ नम्बरका मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।