काठमाडौं । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।
शनिबार बिहान ६ बजेपछिको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह बढ्दै गएपछि ब्यारेजका ४३ वटा ढोका खोलेर पानी निकास गरिएको हो।
यसअघि शुक्रबार बिहान १ लाख ९८ हजार २२० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए। पानीको बहाव बढ्दै गएपछि शुक्रबार दिउँसो क्रमशः ३० र ३१ वटा ढोका खोलिएका थिए।
पानीको बहाव बढेपछि कोशी ब्यारेजमा जोखिमको संकेतस्वरूप रातो बत्ती बालिएको छ। सप्तकोशी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको छ। नदीमा माछा मार्न तथा बगेर आएका दाउरा संकलन नगर्नसमेत स्थानीय प्रशासनले आग्रह गरेको छ।
वर्षा अझै जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै सम्बन्धित निकायले नदी आसपासका क्षेत्रमा निगरानी बढाएका छन्।