जापानका लागि प्रस्तावित राजदूत थापाको पीआरबारे प्रश्न, आफ्नै अन्तर्वार्तामा यस्तो बताएका थिए

जापानका लागि प्रस्तावित राजदूत थापाको पीआरबारे प्रश्न, आफ्नै अन्तर्वार्तामा यस्तो बताएका थिए

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापाको जापानमा रहेको स्थायी बसोबास अनुमति (पीआर) लाई लिएर प्रश्न उठेको छ।

थापाले जापानी सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा आफूले सन् २०१८ मा जापानको स्थायी बसोबास अनुमति प्राप्त गरेको र त्यसपछि जापानमै बस्ने निर्णय गरेको बताएका छन्। अन्तर्वार्तामा उनले जापानको कानागावा प्रिफेक्चरमा आफ्नै घर रहेको तथा उनका श्रीमती र दुई सन्तान पनि जापानमै बस्दै आएको उल्लेख गरेका छन्।

उनका अनुसार उनका छोराछोरी जापानमै जन्मिएका हुन् र त्यहीँ शिक्षा हासिल गरेका छन्। परिवारको स्थायित्व र छोराछोरीलाई आफ्नै समुदायमा हुर्काउने उद्देश्यले आफूले कानागावामा घर किनेको उनले अन्तर्वार्तामा बताएका छन्।

यही विवरण सार्वजनिक भएपछि विदेशी मुलुकको आवासीय अनुमति लिएको व्यक्तिलाई राजदूतमा सिफारिस गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको हो।

परराष्ट्र मन्त्रालयले यसअघि राजदूत पदका लागि प्रकाशित गरेको विज्ञापनमा उम्मेदवारले कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्ने व्यवस्था राखेको थियो। अब थापाको पीआरसम्बन्धी विवरण र उक्त योग्यताबीचको सम्बन्धबारे प्रश्न उठेको छ।

जापानसँग दुई दशकभन्दा लामो सम्बन्ध

थापा सन् २००० मा अध्ययनका लागि जापान पुगेका थिए। त्यसयता उनले नेपाल–जापान सम्बन्धसँग जोडिएका विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्।

उनले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर र शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका छन्। सन् २००९ देखि उनी कानागावा इन्टरनेसनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलासम्बन्धी क्षेत्रमा काम गर्दै आएको सार्वजनिक विवरणमा उल्लेख छ।

सन् २००५ देखि नेपाल–जापानबीच हुने उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय कार्यक्रमको समन्वय र सहजीकरणमा समेत उनी संलग्न रहेको बताइएको छ। नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका जापान भ्रमणलगायतका कार्यक्रममा उनले दोभाषे तथा संयोजकका रूपमा भूमिका निर्वाह गरेको विवरण सार्वजनिक भएका छन्।

सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापान भ्रमणका क्रममा आयोजित नेपाल–जापान व्यापार संवादमा पनि थापाको भूमिका रहेको बताइएको छ। उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वमहासचिव तथा जापानस्थित नेपाली विद्यार्थी संगठनका पूर्वअध्यक्षसमेत हुन्।

राजदूतमा सिफारिस, नियुक्ति प्रक्रिया बाँकी

सरकारले शुक्रबार थापासहित १३ जनालाई विभिन्न देशका लागि राजदूतमा सिफारिस गरेको थियो। जापानका लागि थापाको नाम प्रस्ताव गरिएको हो।

प्रस्तावित राजदूतहरूको अब संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ। त्यसपछि सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रक्रिया रहेको छ।

थापाको जापानको पीआरसम्बन्धी विवरण र राजदूत पदका लागि तोकिएको योग्यताबीचको विषय भने अब सम्बन्धित निकायबाट स्पष्ट हुनुपर्ने देखिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply