प्रधानमन्त्री शाह न्यूयोर्कबाट स्वदेश फर्किँदै

प्रधानमन्त्री शाह न्यूयोर्कबाट स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न कार्यक्रम तथा भेटवार्ता सकेर शुक्रबार राति न्यूयोर्कबाट स्वदेश फर्किएका छन्।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार प्रधानमन्त्री शाह आफ्नो टोलीसहित न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा हुँदै काठमाडौंका लागि प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री शाह नेतृत्वको टोली शनिबार नेपाल आइपुग्ने तालिका रहेको छ। यसअघि परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्किने जनाएको थियो।

प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डीसीस्थित नेपाली दूतावासका चार्ज डी’अफेयर्स शरदराज आरण, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीसहित नियोगका अधिकारीहरूले बिदाइ गरेका थिए।

प्रधानमन्त्रीसँगै रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरूले भने महासभासँग सम्बन्धित थप बैठक तथा कार्यक्रममा सहभागिता जनाउनेछन्।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए। महासभालाई सम्बोधन गर्दै उनले नेपालमा हालै आएको बाढी तथा त्यसबाट भएको क्षतिलाई जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमसँग जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply