ललितपुरमा चल्ने गरी साझा यातायातमा थपिए ५ विद्युतीय माइक्रोबस

ललितपुरमा चल्ने गरी साझा यातायातमा थपिए ५ विद्युतीय माइक्रोबस

काठमाडौं । साझा यातायातले ललितपुर महानगरपालिकासँगको सहकार्यमा पाँचवटा विद्युतीय माइक्रोबस खरिद गरेको छ। १६ सिट क्षमताका यी माइक्रोबस ललितपुरका विभिन्न रुटमा सञ्चालन गर्ने तयारी गरिएको छ।

King Long ब्रान्डका माइक्रोबस CG Motors ले बिहीबार साझा यातायातलाई हस्तान्तरण गरेको हो। नेपालमा King Long का लागि CG Motors आधिकारिक वितरक हो।

यी माइक्रोबस खरिदका लागि साझा यातायात र ललितपुर महानगरपालिकाले संयुक्त लगानी गरेका छन्। तर लगानीको कुल रकम भने सार्वजनिक गरिएको छैन।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार महानगरपालिकासँगको सहकार्यमा माइक्रोबस खरिद गरिएको हो। उनका अनुसार ललितपुरभित्र सञ्चालन हुने रुट महानगरपालिकासँगको समन्वयमा तय गरिनेछ।

साझा यातायातले दशैंअघि नै नयाँ विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याउने तयारी गरेको छ।

साझा यातायातले वातावरणमैत्री, स्वच्छ र सर्वसुलभ सार्वजनिक यातायातलाई प्राथमिकता दिँदै आएको छ। हाल उसले काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ।

वि.सं. २०१८ मा स्थापना भएको साझा यातायातले काठमाडौं उपत्यकाबाहेक म्याग्दी, बागलुङ र पोखरालगायतका स्थानमा लामो दूरीका बस सेवा पनि सञ्चालन गर्दै आएको छ।

साझा यातायातमा संघीय सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकालगायतका निकायको लगानी रहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply