काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन्।
१४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी भएका प्रधानमन्त्री शाह केहीबेरअघि दोहा हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री शाहले असोज ९ गते संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसपछि उनले महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाह नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत कार्यक्रममा समेत सहभागी भएका थिए।
प्रधानमन्त्री शाहको भ्रमणबारे परराष्ट्र मन्त्रालयले आजै प्रेस ब्रिफिङमार्फत थप जानकारी दिने तयारी गरेको छ।