काठमाडौं । सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीलाई फोनमार्फत धम्की दिएको भनिएको अडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयका भन्सार अधिकृत चक्रदेव भट्टको जिम्मेवारी खोसिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण कैलालीका प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीलाई फोनमार्फत धम्की दिएको संवाद सार्वजनिक भएपछि भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन निर्देशन दिएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक अडिओ संवादमा भट्टले गड्डाचौकी भन्सारबाट आवश्यक प्रक्रिया पूरा गरेर छाडिएको एउटा गाडी कैलालीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विषयमा एसपी केसीसँग आपत्ति जनाएका छन्।
उनले उक्त गाडी तत्काल छाड्न वा भन्सार कार्यालयमा बुझाउन आग्रह गर्दै गाडी नछाडिए गृहमन्त्री, सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) र भन्सार महानिर्देशकलाई जानकारी गराउने चेतावनी दिएको सुनिन्छ।
अडिओमा भट्टले सशस्त्र प्रहरीले व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै भन्सार जाँचपास भइसकेका सामान नियन्त्रणमा लिएर ‘बहादुरी नदेखाउन’ समेत भनेका छन्।
भन्सार विभागका अनुसार सार्वजनिक भएको अडिओको विषयमा थप अनुसन्धान तथा आवश्यक बुझबुझारत गर्नुपर्ने भएकाले भट्टलाई विभागमा तानिएको हो। घटनाबारे थप छानबिन अघि बढाइएको विभागले जनाएको छ।