काठमाडौं । निरन्तरको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ४३ वटा ढोका खोलिएका छन्।
शनिबार बिहान ६ बजेको मापनअनुसार ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ। पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ढोका खोलिएको हो।
ब्यारेजको पश्चिमतर्फ सर्वसाधारणलाई जोखिमबारे सचेत गराउन रातो बत्तीसमेत बालिएको छ। पानीको बहाव अझै बढ्न सक्ने भएकाले सप्तकोशी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
जिल्ला प्रशासनले नदी आसपासका जोखिमपूर्ण क्षेत्रमा नजान तथा माछा मार्ने र नदीमा बगेका दाउरा संकलन गर्ने जस्ता गतिविधि नगर्न समेत आग्रह गरेको छ।