काठमाडौं । शनिबार राति रुपन्देही र ललितपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुवै दुर्घटनामा मोटरसाइकल तथा स्कुटर चालकको ज्यान गएको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, मधवलियास्थित सर्भिस लेनमा मोटरसाइकल दुर्घटना हुँदा २३ वर्षीय विवेक कुमार चौधरीको मृत्यु भएको छ। भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १७ प ४८७० नम्बरको मोटरसाइकल राति करिब ९ः४५ बजे दुर्घटनामा परेको थियो।
दुर्घटनामा मोटरसाइकल चालक चौधरीसँगै पछाडि सवार १८ वर्षीया रेखा थापा पनि घाइते भएकी छन्। दुवैलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा चौधरीलाई चिकित्सकले राति १०ः२० बजे मृत घोषणा गरेका थिए।
यस्तै, ललितपुरको सानागाउँमा स्कुटर दुर्घटनामा २६ वर्षीय आषिश मगरको मृत्यु भएको छ। इमाडोलबाट लुभुतर्फ जाँदै गरेको बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।
दुर्घटनामा घाइते भएका मगरलाई उपचारका लागि क्रिस अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति ८ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।