काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको General Debate मा गरेको सम्बोधनको भिडियोले ठूलो दर्शक पाएको दाबी गरिएको छ। संयुक्त राष्ट्रसंघको आधिकारिक YouTube च्यानलमा उपलब्ध उक्त भिडियो ४ लाख ५९ हजारभन्दा बढी पटक हेरिएको बताइएको छ।
संयुक्त राष्ट्रसंघले ८१औँ महासभाको General Debate अन्तर्गत विश्वका नेताहरूका सम्बोधन तथा बैठकका भिडियोहरू आधिकारिक रूपमा उपलब्ध गराएको छ। यस वर्षको महासभाको मुख्य विषय ‘Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All’ रहेको छ। General Debate सेप्टेम्बर २२ देखि २८ सम्म सञ्चालन भइरहेको छ।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्दै नेपालको जलवायु संकट र त्यसले निम्त्याइरहेको जोखिमलाई अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको थियो।
सम्बोधनमा उहाँले हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु संकटका गम्भीर प्रभावमध्ये एकका रूपमा प्रस्तुत गर्नुभयो। विपद्का कारण भएको जनधनको क्षति, पूर्वाधारमा परेको असर तथा प्रभावित नागरिकको अवस्थाबारे विश्व समुदायको ध्यान जानुपर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनका असमान र गम्भीर असर भोगिरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तन नेपालका लागि मानवीय संकट मात्र नभई विकासमै चुनौती थप्ने आपत्कालीन अवस्था बनेको बताउनुभयो।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे बोल्दै उहाँले हिमनदी र पर्माफ्रस्ट पग्लिँदा हिमपहिरो, बाढी र पहिरोजस्ता विपद्को जोखिम बढिरहेको उल्लेख गर्नुभयो। जोखिमयुक्त हिमतालको निगरानी, पूर्वसूचना प्रणालीको विस्तार तथा विपद्का समयमा सीमापार समन्वयका लागि ‘Himalayan Climate Resilience Mechanism’ स्थापना गर्नुपर्ने प्रस्ताव पनि उहाँले अघि सार्नुभयो।
प्रधानमन्त्री शाहले जलवायु परिवर्तनलाई भू-राजनीतिक प्रतिस्पर्धाको विषय नबनाई साझा जिम्मेवारी र ऐक्यबद्धताका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। विशेषगरी ऐतिहासिक रूपमा बढी हरितगृह ग्यास उत्सर्जन गरेका तथा बढी स्रोत र क्षमता भएका मुलुकले जलवायु संकट सम्बोधनमा थप जिम्मेवारी लिनुपर्ने उहाँको धारणा थियो।
जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले जलवायुजन्य विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अनुदानमा आधारित सहयोग आवश्यक रहेको बताउनुभयो। Loss and Damage Fund लगायत विद्यमान जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सहज बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
नेपालले वन संरक्षण, जलविद्युत् विकास, विद्युतीय सवारी साधनको प्रवर्द्धन तथा स्थानीय तहमा जलवायु अनुकूलनका कार्यक्रममार्फत वातावरण संरक्षणमा योगदान गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जलवायु उत्थानशीलताका लागि बलियो पूर्वाधार, प्रभावकारी पूर्वसूचना प्रणाली, लगानी र नयाँ प्रविधिको आवश्यकता औँल्याउनुभयो।
उहाँले विपद् आएपछि मात्रै प्रतिक्रिया दिने परम्परागत शैलीबाट माथि उठेर ‘पूर्वतयारीको संस्कृति’ विकास गर्नुपर्ने बताए। जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्र सीमित नगरी स्रोतको न्यायपूर्ण वितरण र निर्णय प्रक्रियामा प्रभावित मुलुकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले बहुपक्षीयताप्रति नेपालको निरन्तर विश्वास रहेको उल्लेख गर्दै साना तथा विकासशील मुलुकका आवाजलाई प्रभावकारी रूपमा सुन्ने र न्यायपूर्ण परिणाम दिने अन्तर्राष्ट्रिय व्यवस्था आवश्यक रहेको बताए।
अन्त्यमा उहाँले विश्व शान्तिको सन्देश दिँदै ‘यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्ने कामना गर्नुभयो।
गुटेरेससँग भोटेकोशीदेखि जलवायु जोखिमसम्म छलफल
न्यूयोर्क भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुभएको थियो। भेटमा गुटेरेसले भोटेकोशी विपद्बाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभएको थियो।
प्रधानमन्त्री शाहले नेपालले भोगेको क्षतिबारे जानकारी गराउँदै हिमताल फुट्ने जोखिम अझै रहेको विषय उठाउनुभएको थियो। नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा अतिकम विकसित राष्ट्रको सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्ने विषयमा समेत छलफल भएको थियो।
यसै क्रममा प्रधानमन्त्री शाहले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बानिजसँग पनि भेटवार्ता गर्नुभएको थियो। भेटमा दुई देशबीचका विभिन्न विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ। उहाँ गत असोज ६ गते अर्थात् सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्नुभएको थियो।
यस वर्षको महासभाको उच्चस्तरीय सप्ताहमा जलवायु, स्वास्थ्य, शान्ति तथा सुरक्षा, कृत्रिम बुद्धिमत्ता लगायतका विषयमा समेत विभिन्न उच्चस्तरीय छलफल भइरहेका छन्।
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ परराष्ट्र मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।