काठमाडौं । मनाङ र मुस्ताङमा पहिरोका कारण दुई प्रमुख नदीको जलप्रवाहमा अवरोध देखिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मनाङको सदरमुकाम चामे क्षेत्रमा पहिरो खस्दा मर्स्याङ्दी नदीको बहावमा केही अवरोध भएको जनाइएको छ।
यस्तै, मुस्ताङको थासाङ गाउँपालिका–३, निसी क्षेत्रमा गएको पहिरोले कालीगण्डकी नदीको जलप्रवाहमा समेत केही अवरोध सिर्जना गरेको छ।
नदीको बहावमा अवरोध भएपछि पानीको सतहमा अचानक परिवर्तन आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै दुवै नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
सम्बन्धित निकायले नदीको अवस्था निरन्तर निगरानी गरिरहेको जनाइएको छ।