झापामा युवतीको हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोज्ने व्यक्ति पक्राउ

झापामा युवतीको हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोज्ने व्यक्ति पक्राउ

झापा । झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार असोज १२ गते राति करिब १०ः३० बजे बिर्तामोड नगरपालिका–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए।

हाल बिर्तामोड–५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत लिएर युवतीको कोठामा प्रवेश गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले तन्ना च्याती युवतीको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले रायलाई नियन्त्रणमा लिएपछि घाइते रविना मगरलाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको छ।

पक्राउ परेका रायमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply