सरकारको ६ महिना पुगेपछि एमाले प्रमुख सचेतक महरले उठाए गम्भीर प्रश्न

सरकारको ६ महिना पुगेपछि एमाले प्रमुख सचेतक महरले उठाए गम्भीर प्रश्न

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको अहिलेसम्मको कामकारबाहीप्रति गम्भीर प्रश्न उठाएका छन्।

मंगलबार संसद् परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार गठनको सुरुवातमा नागरिकमा देखिएको आशा अहिले निराशामा बदलिएको दाबी गरे। उनका अनुसार सरकारले जनताले अपेक्षा गरेको सुशासन र विकासको अनुभूति गराउन सकेको छैन।

सरकारले निर्वाचनअघि सार्वजनिक गरेका प्रतिबद्धता र १०० दिने कार्ययोजनाअनुसार अपेक्षित काम अघि बढ्न नसकेको उनको आरोप थियो। महरले सरकारको प्राथमिकता जनजीविकासँग जोडिएका परिणाम दिने कामभन्दा राजनीतिक प्रतिशोध र प्रचारमा बढी केन्द्रित भएको दाबी गरे।

युवा नेतृत्वबाट आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय परिवर्तनको अपेक्षा गरिए पनि व्यवहारमा त्यसअनुसारको उपलब्धि देखिन नसकेको उनले बताए। विपद्का समयमा उद्धार, समन्वय र त्यसपछिको पुनःस्थापनामा समेत सरकार प्रभावकारी बन्न नसकेको उनको आरोप थियो।

महरले लोकतान्त्रिक संस्थाहरूको भूमिका, विद्यार्थी संगठन तथा कर्मचारी प्रशासनमाथि सरकारको हस्तक्षेप बढेको दाबी गर्दै यसप्रति आपत्ति जनाए।

उनले सरकारको पछिल्लो कार्यशैलीले लोकतान्त्रिक मूल्य र संस्थागत अभ्यासमाथि समेत प्रश्न खडा गरेको टिप्पणी गरे। सरकारको ६ महिनाको अवधिलाई उनले अपेक्षाअनुसार उपलब्धिमूलक नभएको रूपमा चित्रण गरेका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply