पटक–पटक ताकेता गर्दा पनि काम अघि बढेन, तीन निर्माण कम्पनीमाथि यस्तो कारबाही

पटक–पटक ताकेता गर्दा पनि काम अघि बढेन, तीन निर्माण कम्पनीमाथि यस्तो कारबाही

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको कार्यालयले सडक डिभिजन जुम्लाको सिफारिसका आधारमा ती कम्पनीमाथि कारबाही गरेको जनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय, केसरमहलले जारी गरेको सूचनाअनुसार शंकरमाली निर्माण सेवा प्रालि र मान शाही निर्माण सेवालाई तीन–तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कार्यालयको २०८३ असोज १४ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यस्तो निर्णय गरिएको हो ।

कालोसूचीमा पर्नेमा काठमाडौंको कोटेश्वरस्थित शंकरमाली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति दानबहादुर कार्की र कालिकोटको खाँडाचक्र–१ स्थित मान शाही निर्माण सेवाका मुख्य व्यक्ति सूर्यबहादुर शाही रहेका छन् । दुवै कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै, काठमाडौंको कलंकी–१४ स्थित कश्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालिका मुख्य व्यक्ति माधव घिमिरे र हरिप्रसाद घिमिरे रहेको कार्यालयले जनाएको छ । उक्त कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो ।

कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिदेखि नै कालोसूचीसम्बन्धी निर्णय कार्यान्वयनमा आएको छ । तोकिएको अवधिसम्म यी कम्पनीहरूले सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद प्रक्रिया तथा ठेक्का प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले जिम्मा लिएका विकास निर्माणका काम सन्तोषजनक रूपमा अघि नबढाएको र पटक–पटक म्याद थप तथा ताकेता गर्दा समेत अपेक्षित प्रगति नभएपछि सम्बन्धित सार्वजनिक निकायको सिफारिसमा कारबाही गरिएको जनाएको छ ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply