बझाङ । बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बिहीबार बिहान करिब १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिप चालक सुर्मा गाउँपालिका–४ का अन्दाजी २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले उद्धार कार्यसमेत गरेको जनाएको छ।
जिपमा चालकसहित तीन जना सवार थिए। चालकको मृत्यु भए पनि अन्य दुई जना घाइते भएका छन्। उनीहरूको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।