इटहरीमा सीप तथा रोजगार मेला सुरु, युवालाई रोजगारीसँग जोड्ने सरकारको तयारी

इटहरीमा सीप तथा रोजगार मेला सुरु, युवालाई रोजगारीसँग जोड्ने सरकारको तयारी

काठमाडौँ । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘रोजगार प्रवर्द्धन दशक (२०८३–२०९२)’ लाई कार्यान्वयनमा लैजाने उद्देश्यले मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ।

मेलामार्फत युवाको सीप पहिचान गरी उनीहरूलाई रोजगारदाता तथा विभिन्न तालिम प्रदायक संस्थासँग प्रत्यक्ष रूपमा जोड्ने लक्ष्य राखिएको छ।

मेलामा युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफलसमेत आयोजना गरिनेछ।

त्यस्तै, मेला अवधिमा तालिमका लागि सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगारीसँग मिलान गर्न सीप परीक्षण तथा सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायक संस्थाको परिचयात्मक कार्यक्रम सञ्चालन गरिनेछ।

मेलास्थलबाट युवालाई रोजगारी, सीप विकास तथा तालिमसँग सम्बन्धित एकीकृत सूचना र परामर्श सेवा पनि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

चालू आर्थिक वर्षमा कोशी प्रदेशको इटहरीबाट सुरु गरिएको सीप तथा रोजगार मेलालाई सरकारले क्रमशः देशका अन्य प्रदेशमा समेत विस्तार गर्ने तयारी गरेको छ।

सरकारले मेलामार्फत युवाको सीपलाई रोजगारीको अवसरसँग जोड्दै रोजगार बजारमा आवश्यक जनशक्ति र उपलब्ध सीपबीचको दूरी कम गर्ने लक्ष्य लिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply