सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका दुईवटा सामुदायिक वनमा लुकाइछिपाई राखिएका ८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान करिब ९ः३० बजे बनगाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वनको ओडारमा खोजतलास गर्दा ४ नाल भरुवा बन्दुक फेला पारेको हो।
त्यसैगरी, नगरपालिका–१२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओडारबाट पनि ४ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै स्थानबाट गरी जम्मा ८ नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बरामद भएका बन्दुक कसले र कुन प्रयोजनका लागि वन क्षेत्रमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।