सुरुङमार्गमा १३ चालक कारबाहीमा, दोहोरिए यस्तोसम्मको कारबाही हुने

सुरुङमार्गमा १३ चालक कारबाहीमा, दोहोरिए यस्तोसम्मको कारबाही हुने

काठमाडौँ । नागढुंगा–सुरुङमार्गमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने १३ जना चालकलाई प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुंगाले बिहीबार सुरुङमार्गमा अनुगमनका क्रममा नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरेको हो।

प्रहरीका अनुसार सुरुङमार्गमा ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउने तथा लेन अनुशासन पालना नगर्ने जस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै दुर्घटना भएमा तत्काल उद्धारमा समेत कठिनाइ हुन सक्छ।

सुरुङमार्ग संवेदनशील सडक भएकाले त्यहाँ सवारी चलाउँदा विशेष सावधानी अपनाउन प्रहरीले चालकहरूलाई आग्रह गरेको छ। सुरुङभित्र लेन अनुशासन कायम राख्न र तोकिएको गतिसीमा पालना गर्नसमेत अनुरोध गरिएको छ।

प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई आगामी दिनमा पनि निगरानीमा राखिने जनाएको छ। पटक–पटक लेन अनुशासन, तीव्र गति लगायतका नियम उल्लंघन गरेको पाइएमा सम्बन्धित सवारीसाधन तथा चालकलाई सुरुङमार्ग प्रवेशमा समेत रोक लगाउन सकिने चेतावनी प्रहरीले दिएको छ।

सुरुङमार्गमा हुने दुर्घटनाबाट जनधनको क्षति हुनसक्ने तथा उद्धार कार्यसमेत जटिल बन्ने भएकाले नियमको पूर्ण पालना गरी सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply