संसदमा मौन बस्ने अनि फेसबुकमा क्रान्तिकारी बन्ने प्रवृत्ति बन्द गर्नुस् : खुश्बु ओली

संसदमा मौन बस्ने अनि फेसबुकमा क्रान्तिकारी बन्ने प्रवृत्ति बन्द गर्नुस् : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले संसदमा बोल्ने अवसर पाउँदा मौन बस्ने तर सामाजिक सञ्जालमा आफ्नो धारणा राखेर क्रान्तिकारी बन्न खोज्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएकी छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले सांसदहरूले जनसरोकारका विषय संसदमै उठाउनुपर्ने बताइन्। उनका अनुसार संसद प्रश्न गर्ने र सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण थलो हो।

“संसदमा बोल्ने अवसर हुँदा मौन बस्ने तर त्यही विषय फेसबुकमा गएर लेखेर क्रान्तिकारी बन्ने प्रवृत्ति बन्द गर्नुस्। संसद प्रश्न उठाउने ठाउँ हो,” ओलीले भनिन्।

सामाजिक सञ्जालमा जतिसुकै ठूलो आवाज बनाए पनि संसदमा जनताको प्रतिनिधिका रूपमा प्रश्न उठाउन नसक्ने हो भने त्यसले जनताको वास्तविक आवाजलाई प्रतिनिधित्व गर्न नसक्ने उनको भनाइ थियो।

ओलीले सांसदहरूले आफ्नो पार्टी र सरकारका गतिविधिमाथि समेत आवश्यक प्रश्न उठाउनुपर्ने बताइन्। राजनीति व्यक्तिगत सुविधा हेरेर बोल्ने विषय नभई सही ठाउँमा सही प्रश्न उठाउने जिम्मेवारीसमेत भएको उनले उल्लेख गरिन्।

“आफ्नो सरकारलाई पनि प्रश्न गर्न सक्नु तपाईंहरूको जिम्मेवारी हो,” उनले भनिन्।

उनले संसदमा जनताका विषय प्रभावकारी रूपमा उठाउन नसक्ने सांसदको भूमिकामाथि समेत प्रश्न उठाइन्। यस्तो भूमिका निर्वाह गर्नुभन्दा चुनाव हार्नु उचित लाग्न थालेको उनको टिप्पणी थियो।

ओलीले सोही क्रममा राजनीतिक नियुक्ति, सञ्चारमाध्यमका कार्यालयअगाडि गाडी तेर्स्याइएको विषय तथा चोलेन्द्र शमशेरसम्बन्धी प्रकरणलगायतका विषयमा सत्ता पक्षका सांसदहरूको भूमिकामाथि पनि प्रश्न उठाएकी थिइन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply