काठमाडौँ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको ३५औँ बैठक आज बसेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवं कमाण्ड पोष्टका संयोजक डा. धर्मराज उप्रेतीको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा असोज ८ देखि ११ गतेसम्म भएको भारी वर्षाका कारण प्रभावित जिल्लाहरूमा सडक तथा सञ्चार सम्पर्क कायम गर्न भइरहेका कामको प्रगति समीक्षा गरिएको छ।
बाढी तथा पहिरोका कारण कतिपय क्षेत्रमा सडक र सञ्चार सम्पर्क प्रभावित भएपछि त्यसलाई यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा बैठकमा छलफल भएको जनाइएको छ।
त्यसैगरी, सम्पर्क विच्छेद भएका जिल्लाहरूमा आपत्कालीन हेलिकोप्टर उडानलाई थप व्यवस्थित बनाउने विषयमा समेत बैठकमा छलफल भएको छ। प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हवाई सेवाको व्यवस्थापनमा ध्यान दिने विषय बैठकमा उठाइएको हो।