काठमाडौँ । लामो समयपछि हास्य कलाकार नारायण त्रिपाठी ठूलो पर्दामा फर्किएका छन्। कुनै समय ‘प्रेम चरो’ पात्रमार्फत दर्शकमाझ लोकप्रिय बनेका त्रिपाठी अभिनित नेपाली चलचित्र ‘चमेलीको पोइ’ आज शुक्रबार, असोज १६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।
एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा सुरक्षा पन्त र मुकुन भुसाल मुख्य भूमिकामा छन्। चलचित्रमा नारायण त्रिपाठीसँगै विल्सनविक्रम राई, रवीन्द्र झा, उमेश राई, खड्गबहादुर पुन, अंशु महर्जन, रजनी गुरुङलगायत कलाकारको अभिनय छ।
‘चमेलीको पोइ’ले प्रेम, विवाह, पारिवारिक सम्बन्ध र मानवीय व्यवहारलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। ग्रामीण परिवेशमा आधारित कथामा सम्बन्धभित्र देखिने उतारचढाव र विभिन्न परिस्थितिलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको छ।
चलचित्रमार्फत नारायण त्रिपाठी लामो अन्तरालपछि नेपाली फिल्ममा पुनः देखिएका हुन्। उनको पुनरागमनलाई चलचित्रको प्रमुख आकर्षणमध्ये एकका रूपमा हेरिएको छ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन्। चलचित्रमा राजनराज शिवाकोटी र आशिष अविरलको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
यसअघि चलचित्रको प्रदर्शन मिति चैत १३ का लागि घोषणा गरिएको भए पनि पछि प्रदर्शन मिति परिवर्तन गरेर असोज १६ गते तय गरिएको थियो। अहिले भने चलचित्र आजदेखि औपचारिक रूपमा हलमा पुगेको छ।