काठमाडौं । लोकप्रिय भारतीय वेब सिरिज ‘पञ्चायत’को पाँचौँ सिजन आगामी डिसेम्बर ३ देखि दर्शकमाझ आउने भएको छ। अमेजन प्राइम भिडियोले बुधबार नयाँ सिजनको प्रसारण मिति सार्वजनिक गरेको हो।
नयाँ सिजनमा उत्तर प्रदेशको काल्पनिक गाउँ फुलेरा र त्यहाँका सचिवजीको कथालाई निरन्तरता दिइनेछ। गाउँको राजनीति, पात्रहरूबीच बदलिँदो सम्बन्ध र हास्यपूर्ण घटनाक्रम यसपटक पनि सिरिजका प्रमुख आकर्षण रहनेछन्।
पाँचौँ सिजनमा नयाँ प्रधान मंजूदेवी र सचिवबीचको सम्बन्धसँगै प्रधानपति भूषणको भूमिकालाई पनि कथामा विशेष स्थान दिइएको छ।
सिरिजमा जितेन्द्र कुमार, रघुबीर यादव, नीना गुप्ता, सुनीता राजवर, फैजल मलिक, चन्दन राय, दुर्गेश कुमार र अशोक पाठकलगायत कलाकारको अभिनय रहेको छ। यसको निर्देशन दीपक कुमार मिश्राले गरेका हुन्।
सन् २०२० मा पहिलो सिजन सार्वजनिक भएको ‘पञ्चायत’को दोस्रो सिजन २०२२, तेस्रो सिजन २०२४ र चौथो सिजन २०२५ जुनमा रिलिज भएको थियो। पाँचौँ सिजन सार्वजनिक भएसँगै पाँच सिजन पूरा गर्ने भारतीय वेब सिरिजको सूचीमा ‘पञ्चायत’ पनि थपिनेछ। यसअघि ‘गुल्लक’ले पाँच सिजन पूरा गरिसकेको छ।