काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले पछिल्लो समय राजनीतिक धक्का व्यहोरेको भए पनि सानातिना कुरा र व्यक्तिगत ‘इगो’ मा नअल्झिई फराकिलो मनका साथ अघि बढ्नुपर्ने बताएका थिए।
शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूको शपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै ओलीले एमाले महान् उद्देश्यका साथ अघि बढिरहेको बताएका थिए। उनले विगतका घटनाबाट सिक्दै आत्मसमीक्षा गरेर पार्टीलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
ओलीले पार्टीलाई लागेको धक्का अस्थायी भएको उल्लेख गर्दै लडेको ठाउँबाट पुनः उठ्न सकिने बताएका थिए। साथै, अनावश्यक विवाद र व्यक्तिगत विषयमा नअल्झी पार्टीको उद्देश्य र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न उनले नेता–कार्यकर्तालाई आग्रह गरेका थिए।