दुई फरक कथासहित असोज २३ मा आउँदै ‘टनेल २६’ र ‘अक्षरा’

दुई फरक कथासहित असोज २३ मा आउँदै ‘टनेल २६’ र ‘अक्षरा’

काठमाडौँ । नेपाली चलचित्रका लागि दशैंको माहोल सुरु हुँदै गर्दा असोज २३ गते दुई नयाँ फिल्म प्रदर्शनमा आउने भएका छन्। उक्त मितिमा ‘टनेल २६’ र ‘अक्षरा’ एकसाथ देशभरका हलमा प्रदर्शन हुनेछन्।

नेपाल, भारत र भुटानको सहकार्यमा बनेको ‘टनेल २६’ हरर तथा जोम्बी थ्रिलर जनरामा निर्माण भएको चलचित्र हो। डीडी किन्लेले लेखन, निर्देशन तथा सम्पादन गरेको फिल्ममा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामोलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रमा नेपाल, भुटान र भारतका कलाकार तथा प्राविधिकको सहभागिता रहेको निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका छन् भने एक्सन निर्देशन राजु तामाङले गरेका छन्। फिल्मको संगीत तथा साउन्डसम्बन्धी काम थाइल्यान्डमा गरिएको जनाइएको छ।

त्यस्तै, असोज २३ मै ‘अक्षरा’ प्रदर्शनमा आउँदैछ। विनयराज पौडेलको निर्देशन रहेको यो चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। चलचित्रमा सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी र गीता अधिकारीलगायत कलाकारको अभिनय छ।

‘अक्षरा’ले अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत विवाह गराउँदा उत्पन्न हुने पारिवारिक समस्या तथा त्यसले समाजमा पार्ने प्रभावलाई कथाको आधार बनाएको छ। चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।

यसअघि विभिन्न कारणले प्रदर्शन मिति परिवर्तन भएको ‘अक्षरा’ अब असोज २३ गते शुक्रबारदेखि प्रदर्शनमा आउने निश्चित भएको हो।

एकातिर हरर तथा जोम्बी थ्रिलर ‘टनेल २६’ र अर्कोतर्फ पारिवारिक तथा सामाजिक विषयमा आधारित ‘अक्षरा’ एकै मितिमा प्रदर्शनमा आउन लागेकाले दशैंको सुरुवाती चरणमा दर्शकले फरक स्वादका दुई नेपाली फिल्म रोज्ने अवसर पाउनेछन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply