दसैँको मुखमा दुबईमा गुञ्जिँदै नेपथ्या, नेपाली दर्शकलाई घरको झल्को

दसैँको मुखमा दुबईमा गुञ्जिँदै नेपथ्या, नेपाली दर्शकलाई घरको झल्को

काठमाडौँ । नेपाली लोकरक ब्यान्ड ‘नेपथ्या’ ले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा विशेष सांगीतिक प्रस्तुति दिँदैछ।

नेपथ्याको कन्सर्ट अक्टोबर ४ अर्थात् असोज १८ गते दुबईको इन्टरनेट सिटीस्थित द अजेन्डा हलमा आयोजना हुँदैछ। नेपथ्यका लागि यो दुबईको चौथो सांगीतिक यात्रा हो।

यसपटक दसैँको पूर्वसन्ध्यामा दुबईमा रहेका नेपाली समुदायलाई नेपाली संगीत र संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कन्सर्टका लागि नयाँ तथा सुविधासम्पन्न स्थल छनोट गरिएको छ।

नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले दुबईमा प्रस्तुति दिन आवश्यक तयारी पूरा भएको बताएका छन्। दर्शकलाई सँगै गाउन र नाच्न प्रेरित गर्ने गीतलाई यसपटक प्राथमिकतामा राखिएको उनले बताएका छन्।

कार्यक्रममा अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।

नेपथ्यले यसअघि सन् २०१५ मा पहिलोपटक दुबईमा प्रस्तुति दिएको थियो। त्यसपछि कोभिड महामारीपछि सन् २०२२ मा नेपथ्यको पहिलो अन्तर्राष्ट्रिय भ्रमणसमेत दुबईबाटै भएको थियो।

यसपटकको कन्सर्टमा आबुधाबी, शारजहाँ तथा रस अल खइमालगायत यूएईका विभिन्न स्थानमा रहेका नेपाली दर्शकसमेत सहभागी हुने अपेक्षा गरिएको छ।

द अजेन्डाका अनुसार कार्यक्रम अक्टोबर ४ मा साँझ ४ बजेदेखि राति ९ बजेसम्म हुनेछ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply